सुर्खेतको झुप्राखोलामा दुर्घटना: चार जनाको मृत्यु, एक गम्भीर घाइते
काठमाडौं: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र-०१-०२६च ९२१३ नंको उक्त हाइलक्स गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो। घटनामा परी भैरवी गाउँपालिका–५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएका छन्।
उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
माघ ८, २०७९ आइतबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।