चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले ९३औं जन्मदिनमा गरे चौथो विवाह

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले ९३औं जन्मदिनमा गरे चौथो विवाह

एजेन्सी : चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग चौथो विवाह गरेका छन्।

६३ वर्षीया प्रेमिकासँगको तस्बिरसहित ट्वीट गर्दै उनले लेखेका छन्, ‘मेरो ९३औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले वैवाहिक सम्बन्धको गाँठो कसेका छौं।’

आफूहरू प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित भएको उनले बताएका छन्।

फाउरले सन् १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि हासिल गरेकी थिइन्। क्यालिफोर्निया हाइड्रोजन बिजनेस काउन्सिलको कोषाध्यक्षको रूपमासमेत उनले काम गरिसकेकी छन्।

एल्ड्रिनको यसअघिका तीन विवाह सम्बन्धविच्छेदमा टुङ्गिएका थिए।

एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य हुन्। उनी र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए।

चन्द्रमाको सतहमा आफ्ना चालक दलका सदस्यहरू हिँडिरहेका बेला कमान्ड मोड्युलका पाइलट माइकल कोलिन्सको अप्रिल २०२१ मा र आर्मस्ट्रङ्गको सन् २०१२ मा निधन भएको थियो।

सन् १९७१ मा नासाबाट अवकाश लिए पनि एल्ड्रिन अन्तरिक्ष अन्वेषणमा सम्लग्न रहँदै आएका छन्। अपोलो ११ अवतरण स्थल नजिकै चन्द्रमामा रहेको क्रेटरको नाम उनको सम्मानमा राखिएको छ।

माघ ७, २०७९ शनिबार २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।