बिजुक्छेँलाई भेटेपछि राष्ट्रपति भण्डारीले भनिन्– ‘आज मलाई माइती आएजस्तै लागेको छ’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँगको भेटपछि आफूलाई माइती आएजस्तै लागेको प्रतिक्रिया दिएकी छन्।
भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्, ‘मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु।’
उनले क्यान्सर रोगका कारण निधन हुनुभएकी बिजुक्छेँपत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिन्।
भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए।
‘औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ, औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुप¥यो,’ उनले भने, ‘देशलाई चाहिने औषधि उत्पादन गर्नसक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्नसक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुपर्यो।’
विदेशमा सहज रूपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउनसमेत नसक्दा औषधि अभावमै बिजुक्छेँ पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गरे।
पौने एक घण्टा बिजुक्छेँ निवासमा भएको शिष्टाचार भेटमा शिक्षा, स्वास्थ्य, कृषि र सम्पदा संरक्षणकाबारेमा कुराकानी भएको भेटमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले जानकारी दिनुभयो।
माघ ७, २०७९ शनिबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।