तिलगङ्गा अस्पताललाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री दाहालसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘मानिक विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ,’ उनले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’
भेटका क्रममा प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए।
‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,’ उनले थपे, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो।’
प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।
भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे जानकारी गराएका थिए।
माघ ७, २०७९ शनिबार १९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।