२० ओभरमै सकियाे खेल, एक खेलअगावै सिरिज भारतलाई
काठमाडौं : भारतीय क्रिकेट टीमले एक खेलअगावै न्यूजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय २–० सिरिज जितेको छ।
शनिबार जयपुरमा भएको खेलमा १०९ रनको लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
भारतको जितमा रोहित शर्माले ५१ र विराट कोहलीले ११ रन ल्याएर आउट हुँदा शुबमन गिल र इशान किशानले अविजित रहँदै क्रमशः ४० र ८ रन जोडे।
न्यूजिल्याण्डका मिचेल स्यान्टर र हेन्री सिप्लेले एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको न्यूजिल्याण्डले ३४.३ ओभरमा सबै विकेट गुमाएर १०८ रनमा समेटियो।
उसका लागि ग्लेन फिलिप्सले ३६, मिचेल स्यान्टनरले २७ र माइकल ब्रेसवेलले २२ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
न्यूजिल्याण्डलाई सस्तैमा समेट्न भारतका मोहम्मद सामीले तीन, वासिंग्टन सुन्दर र हार्दिक पाण्ड्याले दुई–दुई तथा कुलदीप यादव, शार्दुल ठाकुर र मोहम्मद सिराजले समान एक–एक विकेट लिए।
गत बुधबार भएको खेलमा भारतले न्यूजिल्याण्डलाई १२ रनले पराजित गरेको थियो। अब तेस्रो खेल मंगलबार इन्दोरमा हुनेछ।
एक दिवसीय खेलपछि भारतले न्यूजिल्याण्डसँगै तीन खेलको टी–२० सिरिज खेल्न्छ।
माघ ७, २०७९ शनिबार १९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।