‘अभियुक्तलाई पक्रिएको दिन म तपाईंलाई खोजी–खोजी अन्तरवार्ता दिन्छु’

‘अभियुक्तलाई पक्रिएको दिन म तपाईंलाई खोजी–खोजी अन्तरवार्ता दिन्छु’

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार गृह मन्त्रायलले निकालेको विज्ञप्तिको विषयमा विषयमा प्रष्टीकरण दिएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विज्ञप्ति जानकारीका लागि प्रकाशित गरिएको भन्दै त्यसका आ–आफ्ना ढंगको व्याख्या, उपव्याख्या र अपव्याख्या हुने बताए।

‘जानकारीको लागि विज्ञप्ति निकालिएको हो,’ उनले भने, ‘व्याख्या आ–आफ्नो ढंगले भयो, त्यसको व्याख्या, उपव्याख्या र अपव्याख्यालाई पनि स्वीकार्न सक्नुपर्छ।’

सत्ता गठबन्धनकै सांसद् भएपनि प्रहरी प्रशासनले फरार अभियुक्तलाई पक्राउ गर्ने उनले बताए। साथै उनले आफू परम्पराकै हिस्सा नभएको समेत बताए।

‘मलाई आफू परम्पराकै हिस्सा भएजस्तो लाग्दैन,’ एक सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अभियुक्तलाई पक्रिएको दिन म तपाईंलाई खोजी–खोजी अन्तरवार्ता दिन्छु।’

कर्तव्य ज्यान मुद्दामा फरार रहेका लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उप–प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए। तर, कोइरी पक्राउ परेका छैनन्।

शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटक–पटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए।

माघ ७, २०७९ शनिबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।