प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना निर्वाचित

प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना निर्वाचित

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना निर्वाचित भएकी छन्।

रानाको पक्षमा १६६ मत परेको र उक्त मत तत्काल सभामा रहेको सदस्यको बहुमत भएकाले उनी उपसभामुखमा निर्वाचित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए।

जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो।

प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन।

अर्को प्रतिनिधि सभाको बैठक माघ १० गते दिउँसो १ बजे बस्नेछ।

माघ ७, २०७९ शनिबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।