पुराना 'फरार'हरू समातिन्छन् मात्र होइन नयाँहरू फरार हुन नपाऊन् भन्ने हेक्का छ: गृहमन्त्री लामिछाने
काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ अपराधीहरू फरार हुन नपाऊन् भन्ने कुराको आफूलाई हेक्का भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले यस्तो अभिव्यक्ति दिएका हुन्।
हिजो मात्र गृह मन्त्रालयले फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको थियो। गृहमन्त्रीकै अघि फरार तथा हत्या अभियोग लागेका व्यक्ति हुँदासम्म पनि पक्राउ नगरिएको भन्दै आलोचना भएपछि हिजो बल्ल गृहले महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित आदेश दिएको थियो।
महतोमाथि सशस्त्र प्रहरीका तत्कालीन असई थमन विकको हत्या अभियोग छ।
गृहमन्त्री लामिछानेले सोही सन्दर्भ आधार मानेर लेखेका छन्- 'पुराना "फरार" हरू समातिन्छ्न मात्र होइन धेरै नयाँहरू फरार हुन नपाऊन् भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द-शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ। मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!'
माघ ७, २०७९ शनिबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।