उपसभामुख पदको लागि आज निर्वाचन हुँदै, रास्वपाकी मगर र कांग्रेसकी यादव प्रतिस्पर्धामा

उपसभामुख पदको लागि आज निर्वाचन हुँदै, रास्वपाकी मगर र कांग्रेसकी यादव प्रतिस्पर्धामा

काठमाडौं: प्रतिनिधि सभाको उपसभामुख पदको लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको पहिलो अधिवेशनको चौथो बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची रहेको छ।

उपसभामुख पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर र नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुखको लागि उम्मेदवारी दिएका हुन्।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आज रास्वपाकी सांसद सोविता गौतमले 'इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस्' भन्ने प्रस्ताव पेश गर्नेछिन्। उक्त प्रस्तावमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी सांसद नारायणी शर्मा तथा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले समर्थन जनाउने छन्।

यस्तै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले 'मुक्ताकुमारी यादवलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस्' भन्ने प्रस्ताव पेश गर्नेछन्। उक्त प्रस्तावमा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले समर्थन जनाउने छन्।

माघ ७, २०७९ शनिबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।