बिमाको पैसा हात पार्न नन्द-ससुरा मिलेर सुस्मिताको हत्या, चार जनालाई जन्मकैद भयो

बिमाको पैसा हात पार्न नन्द-ससुरा मिलेर सुस्मिताको हत्या, चार जनालाई जन्मकैद भयो

मकवानपुर : दुर्घटनामा मारिएका छोराको बिमा रकम हात पार्न परिवारका चार जना मिलेर हेटौँडाकी २४ वर्षीया सुस्मिताको हत्या गरिएको ठहर गर्दै अदालतले परिवारका चार जनालाई जन्मकैदको सजाय सुनाएको छ।

शुक्रवार जिल्ला अदालत मकवानपुरले ससुरा, नन्दहरू र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो। उनीहरू यो मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। 

न्यायाधीश श्रीप्रसाद सन्जेल एकल इजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्की सुस्मिताको हत्यामा संलग्न रहेको ठहर गर्दै २५ वर्ष कैद सजाय सुनायो। सुस्मिताकी सासूलाई भने हत्याको मतियार भएको ठहर गर्दै अदालतले १० वर्ष कैदको सजाय सुनाएको छ।

 २०७७ असार १ गते राति हेटौँडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा सुस्मिताको हत्या भएको थियो। मिसिलमा संलग्न प्रमाण अनुसार भान्सा कोठामा नन्द सीतासँगै सुस्मिता खाना खाइरहेको बेलामा ससुराले पछाडिबाट टाउकोमा काठले हिर्काएका थिए।

सुस्मिता चिच्याउन थालेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले उनको टाउकोमा हिर्काएर हत्या गरेकी थिइन्।

पछि परिवारले सुस्मिताले आत्महत्या गरेको देखाउने प्रयास गरेका थिए। घटना शङ्कास्पद देखिएपछि सुस्मिताको माइतीले प्रहरीमा जाहेरी दियो। पक्राउ गरेर अनुसन्धान अगाडि बढ्दा घटना हत्या देखियो।

कपिलवस्तु वाणगंगा नगरपालिकाकी सुस्मिता र रुपेन्द्र थापाबिच २०७६ वैशाख १८ गते विवाह भएको थियो। दुर्घटनामा थापाको मृत्यु भयो। मृत्युको बिमाको रकम आएको थिएन। त्यही लिन उनको परिवारले हत्या गरेको मिसिलमा देखिन्छ।

माघ ६, २०७९ शुक्रबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।