गृहमन्त्रीको संसद्को डायलगले आलोचना बढाएपछि गृहले फरार सांसदबारे विज्ञप्ति निकाल्यो

गृहमन्त्रीको संसद्को डायलगले आलोचना बढाएपछि गृहले फरार सांसदबारे विज्ञप्ति निकाल्यो

काठमाडौं : हत्या अभियुक्तमा अदालतले पक्राउ आदेश दिएका सांसद संसद्मा आउँदा पनि पक्राउ नगरेको भन्दै प्रतिनिधि सभाको बैठकमै आलोचना भएपछि गृहमन्त्री रवि लामिछानेले पक्राउका लागि लिखित निर्देशन दिएका छन्।

हत्या अभियोगमा अदालतबाट पक्राउ आदेश जारी भएका लक्ष्मी महतो कोइरीले संसद्मा शपथ खाएको र प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदा पनि पक्राउ परेका थिएनन्।

सभामुखको निर्वाचनकोक्रममा कांग्रेस सांसद रामहरि खतिवडाले हत्याका अभियुक्त संसद्मा छन् या छैनन् र पक्राउ किन नपरेका हुन् भनेर सोधेको प्रश्नमा गृहमन्त्री लामिछानेले मन्त्रालय विधि र प्रक्रियाबाट एक पाइला तलमाथि नहुने भन्दै कुनै पनि काममा दबाब नदिन भनेका थिए।

फरार सांसदबारे प्रश्न उठाउँदा उल्टो दबाब नदिनु भन्ने गृहमन्त्रीको भनाइपछि उनको आलोचना भएको थियो। शुक्रवार गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर प्रेम बहादुर विकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मी महतो समेत भएको कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गर्न पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएको उल्लेख छ।

निर्देशन हुँदासमेत पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडी बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको ब्यहोरा उल्लेख छ।

यस अगाडि कोइरी २ पटक संसद्मा उपस्थित हुँदा पनि सुरक्षाकर्मीले देखेको नदेख्यै गरेको थियो। सशस्त्र प्रहरी थमन बिकको हत्याका अभियुक्त रहेका कोइरीले सबै सांसदसँगै शपथ खाए अनि प्रधानमन्त्रीलाई समेत विश्वासको मत दिएर संसद् भवनबाट सहजै निस्किएका थिए।

हत्याका अभियुक्त संसद्मा उपस्थित हुँदा पनि पक्राउ नगरेको भन्दै आलोचना बढेपछि गृहमन्त्री रविले' आफू हत्कडी लिएर नहिँड्ने' भन्दै पक्राउ गर्न प्रहरीलाई आदेश दिइसकेको बताएका थिए।

माघ ६, २०७९ शुक्रबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।