यौन दुर्व्यवहारको आरोपमा ब्राजिलियन फुटबलर ड्यानी पक्राउ

यौन दुर्व्यवहारको आरोपमा ब्राजिलियन फुटबलर ड्यानी  पक्राउ

एजेन्सी : यौन दुर्व्यवहारको आरोपमा स्पेनिस प्रहरीले ब्राजिलियन फुटबलर ड्यानी अल्भेसलाई पक्राउ गरेको छ।

३९ वर्षीय ब्राजिलियन फुटबलर ड्यानीसँग स्पेनको बार्सिलोना शहरमा सोधपुछ भइरहेको छ। डिसेम्बरमा बार्सिलोनाको एक क्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।

ड्यानी बार्सिलोनामा वर्षौंदेखि क्लब फुटबल खेल्दै आएका खेलाडी हुन्। अहिले उनी मेक्सिकोको क्लबबाट खेल्छन्। उनले आफूमाथि लगाइएका सबै आरोप झुटो भन्दै अस्वीकार गरेका छन्।

स्पेनिस मिडियाका अनुसार यो यौनहिंसा डिसेम्बर ३०–३१ को राति बार्सिलोनाको क्लबमा भएको थियो। ड्यानीले स्पेनको एक निजी न्यूज च्यानललाई दिएको अन्तरवार्तामा आफू उक्त रात क्लबमा भए पनि आरोप लगाउने महिलालाई नदेखेको बताएका छन्।

‘म त्यो क्लबमा थिएँ। सबैलाई थाहा छ मलाई नाच्न मनपर्छ तर मैले कसैको गोपनीयतामा हस्तक्षेप गरेको छैन,’ ड्यानीले एन्टेना–३ नामक च्यानललाई दिएको अन्तरवार्तामा भने।

अल्भेस अहिले मेक्सिकोको पुमास उनम क्लबबाट फुटबल खेल्छन्। कतारमा भएको विश्वकपपछि उनी बार्सिलोनामा बिदा मनाउन गएका थिए। ड्यानी कतार विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्ने सबैभन्दा पाका खेलाडी थिए।

माघ ६, २०७९ शुक्रबार १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।