३० मिनेटमा ल्याण्ड गर्नुपर्ने बुद्ध एयरकाे एटीआर ७२ जहाज १ घण्टासम्म आकाशमै
काठमाडौं : भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज एटीआर ७२ जहाजले आकाशमा चार फन्को लगाएपछि बल्ल ल्याण्डको अनुमति पाएको छ।
साँझ ५ बजेर ५५ मिनेटमा भैरहवाबाट उडेका जहाज ६ बजेर ५५ मिनेटमा मात्रै काठमाडौंमा ल्याण्ड भएको हो। सामान्यतया भैरहवादेखि काठमाडौंको उडान समय ३० मिनेटको हो।
बढ्दो हवाइ ट्राफिकका कारण बुद्ध एयरको एटीआर ७२ जहाजलाई आकाशमा होल्ड गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार बुद्धको जहाज ल्याण्ड गर्नुपूर्व ६ बजे उड्नुपर्ने कतार एयरवेजको जहाजलाई उडानको अनुमति दिइएको थियो।
अहिले दिल्लीबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज पनि होल्डको अवस्थामै छ। साढे ६ बजे काठमाडौं ल्याण्ड भइसक्नुपर्ने जहाज अहिले आकाशमा फन्को मार्दैछ।
माघ ६, २०७९ शुक्रबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।