दक्षिण कोरियाको एक बस्तीमा आगलागी हुँदा ६० घर जलेर नष्ट, सातवटा हेलिकप्टर प्रयोग गरेर निभाइँदै

दक्षिण कोरियाको एक बस्तीमा आगलागी हुँदा ६० घर जलेर नष्ट, सातवटा हेलिकप्टर प्रयोग गरेर निभाइँदै

एजेन्सी : दक्षिण कोरियाको राजधानी सियोलको एउटा बस्तीमा आगलागी भएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढि घर जलेर नष्ट भएका छन्। अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग जोडिएका छन्। यी बस्तीहरू राजधानीको छेउमा छन्।

आगो निभाउन ९ सय जना र सात वटा हेलिकप्टर प्रयोग गरिएको थियो। प्रभावित क्षेत्रका एक ७२ वर्षीय बासिन्दाले रोयटर्स समाचार एजेन्सीलाई भने– ‘ढोका खोल्ने बित्तिकै मैले आगो निस्किरहेको देखें।’

‘मलाई लाग्यो कि यो गम्भीर दुर्घटना हो र म एक्लै भाग्नु हुँदैन। त्यसैले मैले मानिसहरूको ढोका ढकढकाउन थालेँ र कराउन थाले। मानिसहरू बाहिर आए र कराउन थाले। त्यहाँ अराजकता थियो।’

आगलागीको कारण खुल्न नसकेको भए पनि यो क्षेत्र आगलागी र बाढीको जोखिममा रहेको मानिन्छ। यहाँका घरहरू कार्डबोर्ड र काठले बनेका छन्।

कोरिया टाइम्सका अनुसार गुर्योङ गाउँमा सन् २००९ यता १६ पटक आगो लागेको छ।

माघ ६, २०७९ शुक्रबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।