उप-सभामुखको उम्मेदवारीमा पनि एक्लियो कांग्रेस, उम्मेदवारी प्रतिस्पर्धी हुन मात्र
काठमाडौँ : प्रतिपक्षी दलको मोर्चाबाट जनता समाजवादीबाट उप सभामुखको उम्मेदवार बनाउने नेपाली कांग्रेसको प्रयास सफल भएन। सभामुखको निर्वाचनमै कांग्रेसले जसपालाई आफ्नो मोर्चामा ल्याउने प्रयास गरेको थियो। तर अन्तिम समयमा जसपा सत्ताधारी मोर्चामै बस्यो।
सभामुखमा नेपाली कांग्रेसबाट उठेकी ईश्वरी न्यौपानेलाई कांग्रेसबाहेक एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी अनि राष्ट्रिय जनमोर्चाले मात्र साथ थिए। असन्तुष्ट देखिए पनि जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसँगै तीन जना स्वतन्त्र सांसदले सत्ता घटकका उम्मेदवार देवराज घिमिरे निर्वाचित भए।
उपसभामुखमा सत्ता घटक दलको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद इन्दिरा राना मगर उम्मेदवार बनिसकेकी छिन्। पार्टीमा सोविता गौतमले समेत उप सभामुखमा उम्मेदवार बन्ने दावी पेश गरेकी थिइन्। तर पार्टी सभापती रवि लामिछाने लगायतकाहरु समावेशी प्रतिनिधित्व भन्दै इन्दिराको पक्षमा उभिएपछि गौतम ब्याक भएकी थिइन्। पछि उनी इन्दिराको समर्थक बसिन्।
अन्य विपक्षीदलहरुले उम्मेदवार उठाउन रुचि नदेखाएपछि कांग्रेसले पनि समानुपातिक सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ।
सत्ता घटकसँग असन्तुष्ट रहेका साना दलहरूको निर्णय के हुन्छ एकिन भइसकेको छैन। तर एमालेसहित माओवादी केन्द्र, मगर उम्मेदवार बनेको दल रास्वपा अनि राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र मत खस्दा पनि विपक्षी दलको उम्मेदवार पराजित हुनेछन्।
निर्वाचित हुन एक सय ३८ मत भए पुग्छ। सत्ता घटकमा रहेका चार दलसँग एक सय ४५ मत रहेको छ। स्वतन्त्र सांसद प्रभु शाह र अमरेशकुमार सिंहले निरन्तर सत्ता घटकका उम्मेदवारलाई मत हाल्दै आएका छन्।
त्यसैले उपसभामुखमा पनि कांग्रेसको उम्मेदवारी चुनौती दिनेमै समेटिने सम्भावना बलियो देखिन्छ।
माघ ६, २०७९ शुक्रबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।