साप्ताहिक सेयर समीक्षाः बजार अझै ‘पर्ख र हेर’ को रणनीतिमा

साप्ताहिक सेयर समीक्षाः बजार अझै ‘पर्ख र हेर’ को रणनीतिमा

काठमाडाैंः याे साता दुई दिनको सार्वजनिक बिदा पछि मंगलबार खुलेको सेयर बजारले केही करेक्सनपछि फेरि रफ्तार लिएको देखियो। मंगलबार ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा उक्लिएको थियो।

३ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार हुँदा ७ कम्पनीमा सकारात्मक सर्किट लागेको थियो।

बुधबार भने नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा अडिएको देखियो। नेप्से परिसूचक घटे पनि त्यस दिन ४ कम्पनीमा सकारात्मक सर्किट लागेको थियो।

सूचकमा सामान्य ह्रास आए पनि सेयर कारोबार रकम (टर्नओभर) ले पुनः तेजी लिन थालेको देखिन्थ्यो।

यसअघि बजार बियरिस रहेका बेला (करिब १८ सयको लाइनमा हुँदा) दैनिक कारोबार रकम ५० करोड रुपैयाँ हाराहारीमा झरिसकेको थियो। तर त्यसयता कारोबार रकम क्रमशः बढ्दै आएको छ।

केही समयअघि नेप्से २२ सय विन्दुमाथि पुग्दा झन्डै ८ अर्बको सेयर कारोबार हुन पुग्यो। अहिले पुनः बजार बिस्तारै लयमा आउँदै गर्दा कारोबार रकममा सुधार हुँदै झन्डै ५ अर्ब रुपैयाँ पुगेको देखियो।

कारोबार रकम बढ्दै जाँदा बजार पनि बलियो हुँदै जाने अनुमान गर्न सकिने जानकारहरु बताउँछन्। दिनहुँ खरिदबिक्री रकममा वृद्धि हुनुको अर्थ बजारमा लगानीकर्ता सक्रिय भएका छन् भन्ने हो।

बिहीबार बजार पुनः सकारात्मक बन्यो। त्यस दिन नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा उकालाे लागेर रोकियो।

तर सेयर कारोबार रकममा भने कमी आएको देखियो। यो दिनमा मात्र ३ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको थियो।

कारोबार अवधिभर तलमाथि–तलमाथि अनि रातो र हरियो भइरहेको बजार अन्ततः थोरै अंकले बढेर बन्द भएको थियो।

बिहीबार बजार साइडवेज प्रवृत्तिमा रहेको देखियो। यस्तो बेला सूचक सँगसँगै कारोबार रकममा पनि सुस्तता देखिन्छ।

यो साता बजारले २२ सयको विन्दुलाई पार गर्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म सम्भव भइरहेको छैन। दिउँसो कारोबार समयभित्रै २२ सय माथि उक्लिएको भए पनि अन्त्यमा गएर २२ सय मुनि नै बजार रोकिएको देखिन्छ।

माथि गइहाल्न पनि नसकेको र तल झरिहाल्न पनि नसकेको अवस्थामा नेप्से देखिएको छ।

यसअघि बजार २२ सय माथि पुगेर फर्किएको हो। त्यसपछि पनि नेप्से एक दिन राम्रैसँग बढेको थियो। कारोबार रकम पनि ५ अर्ब हाराहारीमा पुगेको थियो।

आम लगानीकर्ताले बजारको चाल अध्ययन गरिरहेको र ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार रकम केही घटेको अनुमान गरिएको छ। तथापि, केही दिनको पहलपछि नेप्सेले पुनः २२ सय विन्दुलाई पार गर्ने अनुमान विश्लेषकहरुले गरेका छन्। 

यता, अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर एकै ठाउँमा उभिएका छन्। उनीहरुले अहिले देखिएका समस्या मिलेर समाधान गर्ने बताएका छन्।

अर्थमन्त्रीले बिहीबार मात्रै राज्यकाे अनावश्यक खर्च कटौती गर्ने बताएका छन्। अझ अगाडि बढेर अर्थमन्त्रीले अर्को साता अर्थतन्त्रमा केही साहसी कदम चाल्ने घोषणा गरिसकेका छन्।

सेयर बजार निकै हदसम्म लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्छ। पछिल्ला दिनहरुमा बेलाबखत आइरहेका सकारात्मक खबरहरुले आम लगानीकर्ताको मनोविज्ञानलाई सकारात्मक बनाउँदै लगेको देखिन्छ।

लगानीकर्ताको मनोबल बढेकै कारण बजारले पुस मसान्तको प्रेसरलाई पनि सजिलै छिचोल्न सकेको थियो। पुस मसान्तमा कर्जाको ब्याज तथा आयकरको किस्ता तिर्नका लागि प्रणालीबाट ठूलो पैसा बाहिरिंदा पनि बजार बिग्रिएन।

त्यतिमात्र होइन बैंकिङ प्रणालीको तरलता अवस्थामा पनि ठूलो संकट आएन। यो सेयर बजारका लागि निकै सुखद् पक्ष भएको जानकारहरु बताउँछन्। 

यता, पछिल्ला दिनहरुमा बैंक निक्षेपमा सुधार भइरहेको छ। कर्जा लिनेहरुलाई आकर्षित गर्नकै लागि बैंकहरुले माघमा निक्षेपको ब्याजदर घटाएका छन्। अब कर्जामा पनि ब्याजदर बिस्तारै घट्दै जाने निश्चित छ। 

यसर्थ, आम लगानीकर्ताले सबल सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानीसम्बन्धी निर्णय लिनुपर्ने जानकारहरुको सुझाव छ।

बजार सधैं एउटा रेखामा मात्र नहिंड्ने भएकाले सामान्य तलमाथि हुँदैमा त्यसलाई नकारात्मक हिसाबले सोच्नु उपयुक्त हुँदैन। 

अब आउने दिनहरुमा पनि सूचकसँगै फेरि कारोबार रकमले पनि गति लिंदै गयो र बजारको वृद्धि २० प्रतिशतलाई नाघेर फेरि अघि बढेमा बुल कन्फर्म गर्न सकिने कतिपय अर्थविद्हरूको भनाइ छ।

बजार बुल रनमा जानका लागि आधारहरु तय भइरहेका छन्। मुख्य पक्ष ब्याजदर हो। बैंक तथा वित्तीय संस्थाहरुले माघदेखि नै लागू हुने गरी ब्याजदर घटाइसकेका छन्। बजार माथि जान सहयोग गर्ने यो नै सबैभन्दा प्रमुख पक्ष हो।

माघ ६, २०७९ शुक्रबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।