यात्रुमाथि चालक तथा परिचालकले गरेको दुर्व्यवहारका १४८ गुनासो ट्राफिक प्रहरीमा
काठमाडौं: चालक तथा परिचालकको व्यवहार सुधारको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक तथा परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको हो।
उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालकले दुर्व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा १४८ वटा गुनासो प्राप्त भएका छन्। यात्रुका गुनासोलाई मध्यनजर गरी गत पुस महिनामा सञ्चालन गरिएको सचेतना कार्यक्रममा मात्रै दुई हजार ३२१ जना चालक तथा परिचालक सहभागी भएका थिए।
चालक, परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घमा पत्राचार समेत गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन्।
सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गरेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित काठमाडौं उपत्यकाका विभिन्न स्थान र यातायात व्यवसायी सङ्घसंस्थाका कार्यालयहरूमा चालक तथा परिचालकहरूका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक तथा परिचालकबाट दुर्व्यवहार भएमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ खबर गर्न सकिनेछ।
माघ ६, २०७९ शुक्रबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।