प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अङ्गदान गर्ने घोषणा

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।

प्रधानमन्त्रीले भने, 'डायलिसिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो। केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलिसिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।'

यस्तै केन्द्रको विस्तारका लागि जग्गाको आवश्यकता रहेको पनि प्रधानमन्त्रीले बताए। उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सल्लाघारीमा रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको पनि बताए। 'मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बाेधन गरिनेछ', उनले भने।

नेपालमा हाल वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २०० प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गाैला प्रत्यारोपण गर्दै आइएका छन्।

प्रधानमन्त्री प्रचण्डका अनुसार नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशि खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्थालाई धेरै हदसम्म रोक्न केन्द्रले भूमिका खेलेको छ। मिर्गाैला प्रत्यारोपणका लागि वार्षिक रूपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि केन्द्रको भूमिका रहेको उनले बताए।

प्रधानमन्त्रीले भने, 'यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन। यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ। साथै सात वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छु। त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न  सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईंहरूको मागप्रति गम्भीर छु।'

माघ ६, २०७९ शुक्रबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।