आज उपसभामुखको लागि उम्मेदवारी दर्ता, भोलि मतदान
काठमाडौं: प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज आज उम्मेदवारी दर्ताको तालिका रहेको छ। आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका रहेको छ।
यस्तै आजै अपराह्न ४:१५ मा उम्मेदवारको सूची प्रकाशित गरिनेछ। भोलि शनिबार भने उपसभामुखको पदका लागि मतदान (मतविभाजन) हुनेछ।
भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचीमाथि संक्षिप्त छलफल हुने तथा दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुने तालिका छ।
सत्ता साझेदार दलहरूबीच उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भइसकेको छ। रास्वपाबाट मुख्य आकांक्षीमा सोविता गौतमको चर्चा छ। यस्तै डा. चन्दा कार्की, इन्दिरा राना मगर तथा सुमना श्रेष्ठ पनि उपसभामुखका आकांक्षी हुन्।
आज बस्ने पार्टीको संसदीय दलको बैठकले यसबारे टुङ्गो लगाउने छ। यता कांग्रेसले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी थालेको छ।
प्रतिनिधि सभाको सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
माघ ६, २०७९ शुक्रबार १०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।