हुम्लामा हिमपात, सिमकोटमा एक फिटसम्म जम्यो हिउँ
काठमाडौं: हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ। विगतका वर्षमा मङ्सिर र पुसमा पनि हिउँ पर्ने गरेको थियो।
यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। लामो समयपछि हिउँ पर्दा स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्।
गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन भने कष्टकर बनेको छ। लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्।
हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।
माघ ६, २०७९ शुक्रबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।