अख्तियारको छानबिनमा रहेका सहसचिव ढुंगाना प्रधानमन्त्री प्रचण्डको निजी सचिव

अख्तियारको छानबिनमा रहेका सहसचिव ढुंगाना प्रधानमन्त्री प्रचण्डको निजी सचिव

काठमाडौं : अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका सह-सचिव नवराज ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिव बनेका छन्।

ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भए। मन्त्रीपरिषद्ले उनलाई प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त गर्यो।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा उनी वीरगन्ज भन्सार प्रमुख भएका थिए। महालेखा नियन्त्रक कार्यालयको प्रशासन महाशाखा प्रमुखताका उनीमाथि लेखाका कर्मचारीको सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको थियो।

ढुंगानाविरुद्ध २०७९ पुस १३ मा अख्तियारमा अकुत सम्पत्ति सम्बन्धी उजुरी पर्यो। अख्तियार स्रोतका अनुसार उजुरीमा ढुंगानाले सरुवाका लागि २५ हजारदेखि ५ लाख रुपैयाँसम्म उठाएको र श्रीमतीले समेत सुनका गहनाहरू उपहार लिएको दाबी छ।

उनैलाई प्रधानमन्त्रीले निजी सचिव बनाए। उजुरीमा उजुरीमा भदौ १ गतेदेखिको उनको ‘कल डिटेल’ हेर्ने हो भने सरुवामा भएको सेटिङका सबै विवरण खुल्ने दाबी गरिएको छ।

उनी गोरखा नगरपालिका, तत्कालीन पोखरा उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा प्रशासकिय अधिकृतको रूपमा समेत काम गरेका थिए।

यस अगाडि उनीमाथि रत्ननगरमा जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएर सरुवा लिएर हिँडेको आरोप समेत लागेको थियो।

मातृका यादव उद्योगमन्त्री हुँदा पनि उनी सचिवालयमा थिए। विमानस्थलस्थित अध्यागमन कार्यालय तथा वैदेशिक रोजगार विभाग जस्ता आकर्षक कार्यालयमा बस्दा उनले अकुत आर्जन गरेको उजुरी समेत अख्तियारमा छ।

अध्यागमनमा हुँदा भिजिट भिसामा सेटिङ मिलाएको उनीमाथि आरोप छ।

माघ ५, २०७९ बिहीबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।