११ धुर किनेकाे जग्गा बेच्दा ९ धुर मात्रै भेटिएपछि...

११ धुर किनेकाे जग्गा बेच्दा ९ धुर मात्रै भेटिएपछि...

काठमाडौं : किन्दा ११ धुर रहेको जग्गा बेच्दा ९ धुर मात्रै भएपछि के होला? त्यस्तै भयो रुपन्हेहीको साविल सेलमार गाविस वडा नम्बर २ का एक जग्गाधनीलाई।

कित्ता नम्बर ३४८३ ११ धुर क्षेत्रफल जग्गा किनेका ती जग्गाधनीको अनुमतिविना नापी कार्यालयका कर्मचारीहरूले पछाडिको मोहडाबाट ३ धुर जग्गा उक्त कित्ताबाट हटाएर नक्सा परिवर्तन भएपछि उनले उजुरी दिए।

उजुरीउपर अनुसन्धान हुँदा नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौले सेलमार गाविस–२ मा कित्ता नम्बर ३५९४ कित्ताकाट गरी कित्ता नम्बर ४१९१ र ४१९२ कायम गर्दा कित्ता नम्बर ४१९१ लाई कित्ता नम्बर ३४३४ र कित्ता नम्बर ३५८८ को बीचमा घुसाएर कित्ता नम्बर ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरेको पुष्टि भएको थियो।

अनुसन्धानमा प्रमाणित भएपछि अख्यियारले सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गरेको आरोपमा दुवै जनाविरुद्ध कैद र जरिवानाको मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

साथै, आयोगले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्ने शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरूले फाइदा लिने उद्देश्यले कित्ता नम्बर ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिएको भन्दै उनीहरूलाई पनि मूख्य कसूरदारलाई हुने सजायसरह सजायका लागि मागदाबीसमेत गरेको छ।

माघ ५, २०७९ बिहीबार १९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।