लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, कांग्रेस र जनमोर्चा विपक्षमा
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्।
बिहीबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन्। उपस्थित ८६ सांसदमध्ये मतदानमा ८५ ले भाग लिएकोमा उनको पक्षमा ५७ मत खसेको थियो। विपक्षीमा २८ मत परेको थियो।
मुख्यमन्त्री गिरीलाई एमाले २८, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरूसहित ५७ जनाले पक्षमा मतदान गरे।
माओवादी संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी भने बैठकमा उपस्थित थिएनन् भने सभामुख मतदानमा सहभागी भएनन्। जसले गर्दा विश्वासको मत ५७ र विपक्षमा २८ मत खस्यो।
सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री गिरीलाई विश्वासको मत भने दिएको छ। प्रदेशसभा सदस्य भगवती घिमिरेले गिरीलाई विश्वासको दिइन्।
विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन्। मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
माघ ५, २०७९ बिहीबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।