जनमोर्चा र नेमकिपाले उठाए गृहमन्त्री र सहरीमन्त्रीको पृष्ठभूमि, प्रधानमन्त्रीसँग जवाफ माग
काठमाडौँ : नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद प्रेम सुवाल र चित्रबहादुर केसीले मन्त्रीको पृष्ठभूमिबारे प्रश्न उठाएका छन्।
सुवालले वैदेशिक रोजगारका एजेन्ट नै श्रम मन्त्री बनेको र ठेकेदारलाई सहरी विकास मन्त्री बनाएकोमा प्रधानमन्त्रीको जवाफ मागेका छन्।
उनले स्वार्थको द्वन्द्व देखिने पृष्ठभूमि भएकालाई मन्त्री नियुक्त गरेको भन्दै आलोचना गरे। उनले संसद्मा प्रमुख प्रतिपक्ष नदेखिएको भन्दै सरकारलाई विश्वासको मत दिने नेपाली काँग्रेसको समेत आलोचना गरेका थिए।
जनमोर्चाका सांसद केसीले निर्वाचन अगाडि पुराना दलका पुराना नेताहरूले बिगारे भन्दै नयाँ दल र नयाँ सांसद चाहिन्छ भनेको र त्यही अनुसार केही नयाँ पनि आएको भन्दै तर उनीहरूको पृष्ठभूमि एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको बताए।
'निर्वाचन अगाडि ठुला कुरा गर्ने। तर अहिले उनीहरूको पृष्ठभूमि के थियो भन्ने आइरहेका छन्। गृहमन्त्रीको पृष्ठभूमि के रहेछ, सहरी मन्त्रीको के रहेछ आइराख्या छन्' उनले भने।
उनले अहिलेको अवस्था थप जटिल देखिएको भन्दै सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोमा काँग्रेसको समेत आलोचना गरेका थिए। उनले जनमोर्चा प्रतिगमन सच्चियो भन्ने पक्षमा नभएको समेत बताए।
माघ ५, २०७९ बिहीबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।