गृहमन्त्रीलाई सांसद खतिवडाकाे प्रश्न- हत्या अभियोग लागेका सांसदले सभामुखलाई मतदान गर्न पाउँछन्?
काठमाडाैंः नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई हत्या अभियोग लागेका सांसदले सभामुखलाई मतदान गर्न पाउँने कि नपाउँने भनेर प्रश्न गरेका छन्।
खतिवडाले हत्या अभियोग लागेका सांसद लक्ष्मी महतोलाई इंकित गर्दै सभामुखकाे मतदानमा यसकाे व्यवस्था स्पष्ट पारेर मात्र मतदान सुरु गर्न माग गरेका छन्। संसदमा आज सभामुख चयनकाे लागि मतदान हुँदैछ।
‘सभामुखको निर्वाचन हुने बेलामा आज हत्या अभियोग लागेका सांसद्हरु पनि यहींभित्र छन् भन्ने सुनिन आएको छ,’ सभामुखकाे मतदान हुनु अगाडी बाेल्दै उनले भने, ‘म गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, यदि उहाँ यहाँ हुनुहुन्छ भने उहाँले मतदान प्रक्रियामा भाग लिन पाउने कि नपाउने तय गरेर मात्रै सभा सञ्चालन हाेस्।’
सांसद लक्ष्मी महतोलाई मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्याकाे अभियाेगमा उच्च अदालतले थुनामा राख्न आदेश दिएकाे थियाे।
यसपछि खतिवडाकाे प्रश्नकाे जवाफमा गृहमन्त्री लामिछानेले भने गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम नगर्ने जवाफ दिए।
उनले भने, ‘माननीय सांसदज्युले फरार रहनु भएका मानिस संसदमा हुनुहुन्छ भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले काम गर्ने छैन।’
गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गरिने बताउँदै आएका पनि छन्।
माघ ५, २०७९ बिहीबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।