लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री गिरीले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्यीय बिनाविभागीय मन्त्रिपरिषद् समेत गठन गरेका थिए।

मुख्यमन्त्री गिरीले प्रदेश सभाबाट विश्वासको मत लिनेबारे प्रदेश सभा सचिवालयलाई जानकारी पत्र बुझाएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन र स्वतन्त्र दुई जना सांसदको समर्थन छ।

मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा लाग्ने सात दलीय गठबन्धनको नेतृत्त्व गरेको एमालेले बताएको छ। मुख्यमन्त्रीसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी सरकारले गरेको छ।

माघ ५, २०७९ बिहीबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।