प्रतिनिधि सभामा आज सभामुखको निर्वाचन, एमालेबाट घिमिरे र कांग्रेसबाट न्यौपाने उम्मेदवार
काठमाडौं: प्रतिनिधि सभामा आज सभामुख पदको लागि निर्वाचन हुँदैछ। नवगठित सभामा सभामुख निर्वाचित नभएकाले हालसम्म सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन्।
सत्ता साझेदार दलहरूबीच भागबण्डामा सभामुख एमालेको भागमा परेको छ। एमालेबाट देवराज घिमिरे सभामुखका उम्मेदवार छन्।
यस्तै नेपाली कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदको उम्मेदवार बनाएको छ।
प्रतिनिधि सभाको तेस्रो बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा एमालेका सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका अध्यक्ष रवि लामिछाने तथा माओवादी सांसद हितराज पाण्डेले उक्त प्रस्तावको समर्थन गर्नेछन्।
यस्तै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। एकीकृत समाजवादीका प्रकाश ज्वालाले उक्त प्रस्तावको समर्थन गर्नेछन्।
यस्तै आज सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।
माघ ५, २०७९ बिहीबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।