यती विमान दुर्घटनाः काठमाडौं ल्याइएका मध्ये २१ शवको पहिचान खुल्याे
काठमाडाैंः गत आइतबार भएकाे यती विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये मंगलबार भेटिएकाे थप एक जनाको शव आज काठमाडौं ल्याइएको छ।
मंगलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौं ल्याइएको थियाे। काठमाडौं ल्याइएका शवको आज बिहानदेखि नै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको छ।
काठमाडौं ल्याइएकामध्ये पहिचान खुलेका २१ शवको परीक्षण गरेर भोलि बिहान मृतकका परिवारलाई हस्तान्तरण गरिने एयरलाइन्सले जनाएको छ।
मंगलबार काठमाडौं ल्याइएका शवमध्ये अहिलेसम्म १२ शवको परीक्षण भइसकेको यती एयरलाइन्सले जनाएको छ। दुर्घटनामा मृत्यु भएकामध्ये २२ शवको परीक्षण गरेर पोखरामा नै हस्तान्तरण गरिएकाे थियाे भने बाँकी ४९ शव भने काठमाडौँ ल्याइएको थियो।
पहिचान नखुलेका शवको भने डिएनए टेस्ट गरेर मात्र शव परीक्षण गरी मृतकका परिवारलाई बुझाइनेछ।
माघ ४, २०७९ बुधबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।