श्रममन्त्री म्यानपावर एजेन्ट रहेको पोल खुलेपछि वेबसाइट नै बन्द गराइयो, रविका मुख्य सहयोगी दीपकलाई दिएका थिए कार उपहार

श्रममन्त्री म्यानपावर एजेन्ट रहेको पोल खुलेपछि वेबसाइट नै बन्द गराइयो, रविका मुख्य सहयोगी दीपकलाई दिएका थिए कार उपहार

काठमाडौँ : श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी रहेको सार्वजनिक भएसँगै उनी आबद्ध देखिएका सृष्टि ओभरसिजको वेबसाइट बन्द भएको छ।

मङ्गलवार बेलुकासम्म खुल्लै रहेको सृष्टि ओभरसिजको साइट अहिले खुल्दैन। सो प्रालीमा अर्याल इन्टरनेशनल मार्केटिङ डाइरेक्टर पदमा रहेको उल्लेख थियो। वैदेशिक रोजगारी ठगीबाट अकुत सम्पत्ति कमाएका ४१ कम्पनीका सञ्चालकहरूको सम्पत्ति छानबिन गर्ने सूचीमा सृष्टि ओभरसिज पनि थियो।

स्वार्थ बाझिने गरी म्यानपावर व्यवसायीलाई नै श्रममन्त्री बनाएको भन्दै तीव्र आलोचना भएपछि उनले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक सन्देश राख्दै आफ्नो धेरै ठाउँमा लगानी भएको तर म्यानपावर व्यवसायमा भने लगानी नभएको दाबी गरेका थिए।

उनले त्यसमा 'साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर 'इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर'को पद लेखिदिएको तर हटाइदिन भुलेको' दाबी गर्दै उनले सृष्टि वा वा कुनै म्यानपावर कम्पनीमा लगानी,  संलग्नता, शेयर र पारिश्रमिक समेत नभएको दाबी गरेका थिए।

मङ्गलवारसम्म खुलिरहेको साइटमा उनको तस्बिर कभरपेजमै म्यानपावरका अध्यक्ष लक्ष्मण कोइराला र म्यानेजिङ डाइरेक्टर लेखनाथ भण्डारी लगायतकासँग उभिएका छन्।

सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेका वैदेशिक रोजगार व्यवसायी डोलप्रसाद रास्वपाबाट बने श्रममन्त्री

जापानमा रोजगारीका लागि नेपालीलाई पठाउन सक्रिय म्यानपावर कम्पनी हो सृष्टि। अर्याल पनि लामो समय जापान बसेर फर्किएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ सांसद बनेका उनलाई पार्टी सभापति रवि लामिछानेको एकल निर्णयमा श्रममन्त्री बनाइएको थियो।

रवि र दीपकसँग राम्रो दोस्ती

अर्याल लामिछाने र उनको मुख्य सहयोगी दीपक बोहोरा न्युज२४ टेलिभिजनमा हुँदादेखि नै निकट सम्बन्ध रहेको देखिन्छ। सन् २०१८ मा लामिछाने र बोहोरा जापान भ्रमणमा जाँदा अर्यालले उनीहरूलाई सघाएका थिए।

नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका अर्यालले दीपकलाई कार नै उपहार दिएका थिए। रवि जता गए उतै जाने दीपक अहिले रविकै मुख्य स्वकीय सचिवको रूपमा कार्यरत छन्।

पार्टी गठन भएपछि आर्थिक सहयोग गर्नेमा अर्याल पनि महत्त्वपूर्ण सूचीमा पर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले बताए।

अर्यालको छनौट योग्यता र योजनाका आधारमा भन्दा पनि रविसँगको निकटताको आधारमा भएको सोही पार्टीका एक नेताले बताए।

'श्रम मन्त्रालय माग्नासाथ पार्टीभित्र लगभग को मन्त्री बन्छन् भन्ने पक्कापक्की थियो। उनै भए,' ती नेताले भने' स्वास्थ्य मन्त्रालय लिएको भए महामन्त्री मुकुल ढकालले चन्दा कार्कीलाई पठाउने तयारी गरेका थिए। तोसिमा कार्की पनि दाबेदार बनेपछि विवाद हुने भयो भनेर शिक्षा लिइयो। तर प्राथमिकतामा स्वास्थ्य नै थियो।'

ती नेताका अनुसार उपसभामुख लिनुको कारण सोविता गौतमलाई पठाउन हो। उपसभामुखमा सोविताको नाम लगभग पक्का भएको उनले बताए। 

माघ ४, २०७९ बुधबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।