बुहारीले बैंकका कर्मचारीसँग मिलेर आफ्नो घर लिलामी गरेकाे ससुराकाे आराेप, प्रक्रियाअनुसार लिलामी गरेकाे बैंककाे जवाफ
बुटवलः बुटवल–१४ बेलभरियाका एक व्यक्तिले आफ्नै सुसुराको नाममा रहेको घर लिलामी गराउन आफ्नो बुहारीले बैंकका कर्मचारीसँग मिलेमतो गरेको आराेप लगाएका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल बेलबास शाखाका ऋणी खेमराज शर्मा (नेपाल) ले पत्रकार सम्मेलन गरेर किस्ता र ब्याज तिरिरहेको अवस्थामा पनि बैंकले घर लिलामी गरेर आफूलाई घर न घाटको बनाउन लागेको गुनासो गरे।
आफ्नो एक करोड बढी मूल्य पर्ने घरलाई आफ्नै बुहारी अस्मिताले व्यक्तिगत स्वार्थका कारण बैंकका कर्मचारीसँग मिलेर लिलामी गराएको गुनासो उनले गरेका हुन्।
उनले लिलामी प्रक्रियामा पनि गोप्य सिलबन्दी बोलपत्रको मान्यता उल्लंघन गरी बैंक कर्मचारीले तीन बजेसम्म बोलपत्र बुझाउनुपर्नेमा तीन बजेपछि बुझेको बताए।
आफ्नो बोलपत्र रकमबारे अर्को पक्षलाई जानकारी गराएर बढी रकमको बोलपत्र हाल्न लगाइ लिलामी गराउन खोजेको उनकाे आराेप छ।
‘मेरो घर लिलामीमा आफ्नै बुहारी अस्मिताले बैंकका कर्मचारीको चाहनाअनुसार सहमति जनाइन्,’ पत्रकार सम्मेलनमा खेमराजले भने, ‘लिलामी प्रक्रिया गलत भयो भनेर नेपाल राष्ट्र बैंकमा पनि निवेदन दिएको छु, म माथि परिवारकै सदस्यले अन्याय गरे।’
बैंकले लिलामीको लागि पुस १९ गते सात दिने अन्तिम सूचना प्रकाशित गरेको थिय। सूचना अनुसार बोलकबुल गर्ने रकमको १० प्रतिशत रकम गोप्य सिलबन्दी गरी धरौटी जम्मा गर्न भनेको थियो।
उक्त लिलामीको सूचना अनुसार खेमराजले गोप्य सिलबन्दीको लागि बैंकमा ५ लाख ७० हजारको चेक लगेर दिएपनि बैंकका कर्मचारीले खोलेर, भौचरमा नै रकम उल्लेख गरिदिएको र त्यो रकम अरुलाई देखाएर आफ्नो मान्छेलाई लिलामी पार्ने ठूलो चलखेल गरेको शर्माले दावी गरे।
खेमराजको बेलबासमा रहेको कित्ता नं १६८ र १३८ मा बनेको घर जग्गा बैंकले लिलामीका लागि सूचना निकालेको थियो। पीडित नेपालले आफ्नो घरजग्गालाई जसरी पनि लिलामी पार्ने योजनाबद्ध जाल रचेको भन्दै न्यायका लागि अपिल गरेका छन्।
‘मैले पौने ३ बजे सिलबन्दी बोलपत्र बुझाएपछि त्यो सिलबन्दी बैंकको ब्रान्च म्यानेजरले प्रमाणित गर्नुपर्छ भनेर खोलेर हेरेर रकम समेत लेखी सहि छाप गरिदिए। अनि पछि मेरो रकम हेरेर उनै म्यानेजरले मैले राखेको रकममा १० हजार बढि राखी अर्को व्यक्तिलाई बोलपत्र राख्न लगाए। यो सरासर योजनाबद्ध हो,’ पत्रकार सम्मेलनमा उनले भने।
साथै उनले कार्यालय समयमा आफ्नो मात्र बोलपत्र परेको भएपनि कार्यालय समय पछाडि दोस्रो व्यक्तिको बोलपत्र दर्ता गरेको भन्दै बैंकको सिसिटीभि फुटेज हेर्न पाउनुपर्ने माग राखेका छन्।
जेठ ९ गते बैंकले ३५ दिने म्याद निकालेको र त्यसपछि असोजमा आफूले किस्ता र व्याज सबै दिएको, कार्तिकमा पनि सबै व्याज तिरेको आवस्थामा मंसिरमा भने बैंकले ओभरड्राफ्ट (ओडी) को बहानामा व्याज रकम नबुझि पुसमा लिलामीको सूचना निकालेको उनको भनाइ छ।
उनले सिटिजन्स बैंकबाट आफ्नै बुहारीका फेन्सी पसलका लागि भनेर घरजग्गा राखी ४० लाख रुपैया ऋण लिएका थिए।
पछि उक्त फेन्सी पसल बुहारीले आफ्नो नाममा गराएको र छोरा बुहारीको ऋणको किस्ता र व्याज तिर्नुपर्दा आफू सडकमा आउनुपर्ने वाध्यता आएको उनले बताए।
छोराले तिर्नुपर्ने ऋण बापतको रकम ५७ लाख अदालतले समेत तिर्न आदेश गरेपनि छोराले पैसा नतिरेको र बुहारिले आफ्नो सम्पत्ति हडप्न बैंक म्यानेजरसँग मिलेर योजनाबद्ध रुपमा घरजग्गा लिलामीमा चलखेल गरेको उनले बताए।
बुटवल वडा नं. १४ का वडाध्यक्ष दधिराम न्यौपानेले पनि घटना विवरणहरुको अध्ययन गर्दा खेमराज नेपाल अन्यायमा परेका देखिएको बताएका छन्।
सिटिजन्स बैंक लुम्बिनी प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठले बैंकले नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार नै घर लिलामी प्रक्रिया अघि बढाएको तर घरायसी विवादका कारण ऋणी पक्षले बैंकको मिलेमतो भन्ने झुठो आरोप लगाएको स्पष्ट पारे।
बैंकले सकेसम्म व्यावहारिक हिसाबले कसैलाई अन्याय नहोस् भनेर प्रयास गरेको पनि श्रेष्ठले बताए।
माघ ४, २०७९ बुधबार १८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।