विभूषणलाई सम्मानित बनाउन मापदण्ड बनाउँदै सरकार
काठमाडौँ : सरकारले हरेक वर्ष दिने विभूषण तथा पदक विवादित बनेपछि वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभूषण तथा पदक वितरणका विषयमा छलफल गर्दै आ-आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी गरेको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार बैठकमा विभूषण प्रदान गर्ने मापदण्ड बनाउन समिति गठन गर्ने विषयमा समझदारी बनेको र समितिको नाम पछि सार्वजनिक गर्ने बताएका थिए।
विभूषण पाउनेले गर्व अनुभव गरोस् भन्नका लागि स्पष्ट मापदण्ड बनाउन लागिएको उनले जानकारी दिए।
हरेक वर्ष सरकारको सिफारिसमा राष्ट्रपतिले सरकारकोतर्फबाट विभिन्न अलङ्कार, विभूषण र पदक प्रदान गर्ने गरिन्छ। अलङ्कार र पदक पाउनेहरूको नाम सार्वजनिक भएपछि हरेक वर्ष विवाद हुने गरेको छ। केहीले सरकारले घोषणा गरेको अलंकार, विभूषण र पदक अस्वीकार समेत गर्ने गरेका छन्।
योगदान भन्दा पनि पहुँचका आधारमा राज्यको स्रोतको दुरुपयोग गर्दै विभूषण र पदक दिएको भन्दै लामो समयदेखि नै आलोचना हुँदै आएको छ।
'बैठक राज्यले विभूषण प्रदान गर्दा आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भनेर विभूषणका विषयमा अध्ययन समिति गठन गर्ने निष्कर्षमा पुगेको’ उनले बताए।
माघ ४, २०७९ बुधबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।