यति जहाज दुर्घटनास्थलमा गम्भीर सुरक्षा चुक, न समन्वय न घटनास्थलको सुरक्षा
पोखरा : डोरीमा तुन्द्रुङ झुन्डाइएका शव। घटनास्थलभरि रमिते। भुईँभरि यात्रुका सामान छरपस्ट छ। रमितेमध्ये कोही 'प्लेनमा त यस्तो पनि हुँदो रैछ' भन्दै विमानका टुक्रा उचालिरहेका थिए। कसैले विमानका अवशेषलाई लात्तिने हानिरहेका थिए।
दुर्घटनामा खोज तथा उद्धार जतिकै महत्त्वपूर्ण हुन्छ घटनास्थलको सुरक्षा। तर पोखरा महानगरपालिका–१५ नयाँगाउँ नजिक सेतीखोँचमा यति एयरलाइन्सको विमान दुर्घटनामा घटनास्थलको सुरक्षा नै गरिएन।
बस्ती नजिकै भएको दुर्घटनामा सुरक्षाकर्मीभन्दा पहिला पुगेका स्थानीयहरूमा सामान्य मानवीय संवेदनशीलता समेत देखिएन।
भौगोलिक संरचनाका कारण खोजी तथा उद्धार कठिन हुनु स्वाभाविकै हो। तर दुर्घटनास्थलमा रमिता हेर्न भेला भएकाहरूले थप कठिन बनाइदिए उद्धारलाई।
घटनास्थल पुगे लगत्तै सुरक्षाकर्मी खोजी तथा उद्धारसँगै घटनास्थलको सुरक्षामा समेत सचेत हुनुपर्ने हो। घटनास्थल बेरेर असम्बन्धित व्यक्तिहरूलाई प्रवेश गर्नबाट रोक्नुपर्ने हो।
यात्रुका महत्त्वपूर्ण सामानको सुरक्षाका लागि समेत घटनास्थलको सुरक्षा महत्त्वपूर्ण हुन्छ। त्यसतर्फ सुरक्षा सङ्गठन गम्भीर देखिएन।
तत्काल घटनास्थल बेरिएन। घटनास्थलमा रमिता हेर्न आएकाहरू संवेदनशील दुर्घटनास्थलमा जता मन लाग्यो त्यतै हिँडिरहे। जमिनभरि यात्रुका सामान छरपस्ट थिए। कोही ती सामान कुल्चँदै हिँडे। केहीले 'के रहेछ' भन्दै ओल्टाइपल्टाई गरिरहे।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी अनि नेपाल प्रहरी खटिएका थिए। उनीहरूबिच नै समन्वय हुन सकिरहेको थिएन।
सेना र सशस्त्रमा खोजी तथा उद्धारमा तालिमप्राप्त दक्ष जनशक्ति छन्। उनीहरूलाई खोजी तथा उद्धारमा अनि प्रहरी घटनास्थलको सुरक्षा र उद्धार भएकालाई अस्पताल लैजान केन्द्रित हुन सक्थे।
तर सबै हडबडमा खोजी र उद्धारमै केन्द्रित भएका देखिए। विमान दुर्घटनामा आगो लाग्नुभन्दा अगाडि उद्धार गर्न सक्नु महत्त्वपूर्ण हो। स्थानीयले यसमा योगदान दिन सक्थे।
आगलागी अगाडि घटनास्थलबाट कति जनाको उद्धार भएर अस्पताल पुर्याइयो त्यसको तथ्याङ्क कतै भेटिएन। केही स्थानीयको दाबी अनुसार एक बालिकासहित चार जनालाई आगलागी हुनुभन्दा अगाडि नै निकालेर अस्पताल पठाइएको थियो।
विमानको इन्जिनसहितको भाग सेतीको खोँचमा अनि आधा भाग माथि नै अड्किएकाले माथि अड्किएको भागमा रहेका यात्रुको आगलागी अगाडि नै उद्धार गर्न सम्भव भएको भए मृतकको सङ्ख्या फेरबदल हुन पनि सक्थ्यो। तर सम्भव भएन। आगो लागिहाल्यो विमानमा।
विमानको आगो निभाउन समेत अलमल भइरहेको थियो। आगलागी भएको एक–डेढ घण्टासम्म पनि सुरक्षाकर्मी कसरी आगो निभाउने भन्ने दोधारमै थिए।
विमान अफ्ठेरो खोचमा खसेको थियो। आगो लागिरहेकै ठाउँमा पानी पूर्याउन दमकल सेती नदीको वारी र पारी डुलाउँदैमा समय बित्यो।
आगो नियन्त्रणमा लिन लामो समय लाग्यो। संयुक्त टोलीले पहिलो दिन ६२ शव निकाल्यो। दोस्रो दिन ८ र तेस्रो दिन १ सहित ७२ जनाको शव निकालियो।
७० वटा शव सग्लै थियो। २ वटा क्षतविक्षत। शव सङ्कलनपछि त्यसलाई छोप्ने सामानको समेत अभाव देखियो। खोँचमा फेला परेका शव माथि तान्दा र्याप नगरी डोरीमा झुन्ड्याउँदै बीभत्स रूपमा तानियो। पछि मात्रै प्लास्टिकले छोप्न थालियो।
किन यस्तो भयो?
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अजय केसी घटना लगत्तै सुरक्षाकर्मी घटनास्थलमा पुगे पनि ठुलो मुस्लोसहित आगो दम्किइसकेकाले समयमै उद्धार गर्न नसकिएको बताउँछन्।
‘विमान दुर्घटना भएको सात मिनेटमानै प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगिसकेको थियो। अन्य सुरक्षाकर्मी र उद्धार टोली पनि समयमै पुगेको थियो,' एसपी केसीले भने'तर, त्यहाँको कठिन भौगोलिक अवस्था अनि सेती खोचमा दुर्घटना भएकाले आगोको मुस्लोसँगै निस्किएको धुवाँले डेढ घण्टा जति त्यसै अलमलमा परियो।'
कठिन भौगोलिक अवस्था अनि आगो र धुवाँको मुस्लोका बाबजुद सुरक्षाकर्मीले ज्यानको बाजी लगाएको काम गरेको उनले दाबी गरे।
घटनास्थलको सुरक्षा र शव सङ्कलन विधिमा देखिएका कमजोरी उनले पनि स्वीकार गरे। सुरक्षा निकायबिच समन्वय गर्दागर्दै पनि दुर्घटना स्थलको भौगोलिक अवस्थाले गर्दा केही कमजोरी भएको उनले स्विकारे।
‘सुरक्षाकर्मी आगो नियन्त्रण, उद्धारमा खटिदा हेर्न पुगेको सर्वसाधारणको भीडले समस्या भयो। साँघुरो सडकभरि भीड लागेकाले एम्बुलेन्स, दमकल छिर्न समेत कठिन भयो', एसपी केसीले भने' तै पनि छिटै आगो नियन्त्रण र उद्धारमा सक्दो प्रयास गर्यौ।'
एसपी केसीले दुर्घटनास्थलबाट ७० वटा सग्ला र २ क्षतविक्षत अवस्थाको शव भेटिएको बताए । उनले क्षतविच्छेद अवस्थामा भेटिएका २ वटा शवको भिसेरा जाँचबाट मात्र पहिचान हुने भएकाले बुधवार पनि खोजको काम जारी राखेको बताए। विमानमा चालकदलका ४ सदस्यसहित ७२ जना यात्रु थिए।
माघ ४, २०७९ बुधबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।