अरूको नामबाट सिम निकालेर मोबाइल बैंकिङबाट रकम ट्रान्सफर, कालिकोटका योगी पक्राउ
काठमाडौं : सिम डुप्किकेसन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–४ घर भई काठमाडौं गोंगबु बस्ने २६ वर्षीय पुर्ण योगी भन्ने पुर्णनाथ योगी रहेका छन्।
उनले सामाजिक सञ्जालको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विट्जरल्याण्ड जस्ता विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखेर भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात माग्थे।
भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाएर पीडितहरूले पेश गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी पीडितहरूको नामबाट सिम निकाल्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
यसरी निकालेको सिम डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्याइ पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला परिसर काठमाडौं पठाइएको छ।
माघ ४, २०७९ बुधबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।