कांग्रेसले सभामुखमा उम्मेदवारी दिने
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बुधबार विहान बसेको कांग्रेस पदाधिकारीको बैठकबाट यस्तो निर्णय गरेको हो।
बैठकले दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने र त्यसअघि अन्य दलका नेताहरूसँग छलफल गरेर बहुमत जुटाउन प्रयास गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
‘आजै सभामुखको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले उमेदवारी दिने निर्णय भएको छ,’ उनले भने, ‘त्यसका लागि २ बजे संसदीय दलको बैठक बोलाइएको छ। त्यसअघि अन्य दलहरूसँग छलफल हुनेछ।’
पदाधिकारी बैठकअघि आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेका थिए।
माघ ४, २०७९ बुधबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।