नाबालिग यौनहिंसाका दोषी पललाई राप्रपा सांसद् शाहीको बधाई
काठमाडौं : नाबालिग यौन हिंसाका दोषी कलाकार पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले बधाई दिएका छन्।
जिल्ला अदालत तनहुँले बलात्कार आरोपी शाहविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै मंगलबार गरेको अन्तिम फैसलामा सफाइ दिएपछि सांसद् शाहीले उनलाई बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष सावित गरेको छ। आज अन्त्यन्तै खुसी भएको छु। एउठा न्यायको लडाइँ जित्नुभएको छ। हार्दिक बधाई तथा शुभकामना।’
तनहुँ अदालतले सफाइ दिए पनि उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पल २०८१ भदौ १५ गतेसम्म जेल बस्नुपर्छ।
उनले २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका थिए। प्रहरी कार्यालयमा ११ फागुनमा एक नाबालिग गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएकाले अदालतले जेलमुक्त गर्ने आदेश दिएमा उनको जेलजीवन छोटिनसक्छ।
नवलपुर अदालतले पनि शाहलाई बलात्कारको आरोपमा सफाइ दिएको थियो तर बाल यौन दुरुपयोगको कसुरमा उनलाई साढे २ वर्षको जेल र क्षतिपूर्तिबापत १० लाख रूपैयाँ जरिवाना तोकिएको थियो।
माघ ३, २०७९ मंगलबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।