संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा सहजीकरण गर्छु : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा सहजीकरण गर्ने बताएका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री दाहालले संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाएको बताए।
बैठमा उनले पुस २६ गतेको सरकारलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिँदै विश्वासको मतको सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी रहेकोमा आफू सचेत रहेको स्पष्ट पारे।
प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए।
बैठकमा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।
माघ ३, २०७९ मंगलबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।