लुम्बिनीको सभामुख र उपसभामुखमा तुलाराम र मेनुका निर्विरोध निर्वाचित
बुटवल : लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन्।
सभामुखमा घर्तीको सोमबार एकल उम्मेदवारी परेको थियो। उप–सभामखुमा भने खाँणसहित नेपाली कांग्रेसबाट विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिबाट निर्मलादेवी थारुको उम्मेदवारी परेको थियो।
तर मंगलबार कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उप–सभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि सभामुख र उप–सभामुख दुवैमा सत्ता गठबन्धनकै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
मंगलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पाल्पा २ (ख)बाट निर्वाचित घर्ती सभामुख र उप–सभामुखमा राप्रपाकी समानुपातिकतर्फबाट सांसद् खाँण निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५८ सांसद् छन्। प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, जसपा, जनमत, लोसपाका ३÷३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा छन्।
माघ ३, २०७९ मंगलबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।