नवनियुक्त परराष्ट्रमन्त्री भन्छिन्– ‘सीमा विवादको विषयमा यहि गर्छु भन्न सक्दिन’
काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पाैडेलले सीमा विवादको विषयमा यहि गर्छु भन्न नसक्ने बताएकी छन्।
मंगलबार पदभार ग्रहणका क्रममा मन्त्री राईले सीमा विवादको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै यसअघिका नेतृत्त्वले यस विषयमा धेरै समय खेर फालिसकेको भन्दै उनीहरूसँग बसेर छलफल गर्ने बताइन्।
‘सीमा विवादको विषयमा यसअघिका नेतृत्वले धेरै समय गुमाइसक्नुभएको छ,’ उनले भनिन्, ‘उहाँहरुसँग बसेर छलफल गरेर हामीले के गर्नसक्छौं, अहिले नै मैले सीमा विवादजस्तो महत्वपूर्ण विषयमा यहि गर्छु भन्न सक्दिन। अध्ययन त गर्छु नै। राष्ट्रिय हितको विषयलाई सम्झौता नगरी काम गर्छु।’
यस्तै मन्त्री राईले मन्त्रालयले जनतालाई पुर्याउने पासपोर्ट लगायतका सेवा लिनका लागि सर्वसाधारणमा देखिएको समस्याको समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन्।
यस्तै उनले आफूसँग कुटनीतिक नियोगमा रहेर काम गरेको अनुभव भएको बताउँदै देशलाई फाइदा पुग्नेगरी काम गर्ने प्रतिबद्धतासमेत जनाइन्।
विदेशमा रहेको राजदूतावासमा नेपालीहरूको सहज पहुँच दिलाउन र सुरक्षित महसुस गराउनमा आफू लागिपर्ने बताइन्।
नवनियुक्त मन्त्री राईले भनिन्, ‘राजदूतावास आउँदा घर आएकोजस्तो सुरक्षित महसुस गर्न सक्नुपर्छ, राजदूतावासलाई त्यस्तो बनाउनेतर्फ मेरो प्राथमिकता रहन्छ।’
माघ ३, २०७९ मंगलबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।