प्रचण्डकाे मन्त्रिपरिषदमा थपिएका नयाँ मन्त्रीहरुले लिए शपथ
काठमाडौंः प्रधानमन्त्री पुष्मकमल दहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्। मंगलबार नियुक्त भएका नयाँ मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नयाँ मन्त्रीहरू थपिएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १२ मन्त्री र ३ राज्यमन्त्रीकाे नियुक्ति गरेकी हुन्।
नयाँ नियुक्तिसँगै एमालेकाे भागमा सर्वाधिक ८ र माओवादी केन्द्रकाे भागमा प्रधानमन्त्रीसहित ५ मन्त्री पद परेकाे छ। त्यसैगरी, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय पाएकाे छ।
माओवादी, रास्वपा र राप्रपाका तर्फबाट १-१ जना राज्यमन्त्री पनि बनेका छन्।
यसअघि माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भएकाेमा माओवादीबाट नै रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन्।
त्यसैगरी, सुशीला श्रीपालीले भौतिक पूर्वाधार राज्यमन्त्रीमा शपथ लिएकी छिन्।
राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसँगै ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन्।
त्यसैगरी, राप्रपाबाट बिक्रम पाण्डेले सहरी विकासमन्त्री, दीपक सिंहले उर्जा राज्यमन्त्री र ध्रुवबहादुर प्रधानले कानुनमन्त्रीकाे रुपमा शपथ लिएका छन्।
एमालेबाट भने पदम गिरी, भगवती चौधरी, डा.विमला राई र हरि उप्रेती मन्त्री बनेका छन्।
रास्वपाबाट अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनिसकेकाेमा डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएकी छन्।
त्यस्तै, मंगलबार रास्वपाबाट डोलप्रसाद अर्याल श्रम मन्त्री र शिशिर खनाल शिक्षा मन्त्री बनेका हुन्।
माघ ३, २०७९ मंगलबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।