कालिञ्चोक दर्शनको आईपीओ खुला, १० देखि चार हजार ९९० कित्ता खरिदका लागि आवेदन दिन सकिने

कालिञ्चोक दर्शनको आईपीओ खुला, १० देखि चार हजार ९९० कित्ता खरिदका लागि आवेदन दिन सकिने

काठमाडौं: कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ।

त्यसैगरी, दुई प्रतिशतले हुने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

निष्काशन गरिने शेयरमा सर्वसाधारणले माग ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार ९९० कित्ता खरिदका लागि आवेदन दिनसक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले दोलखाको कुरीबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ।

कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ।

माघ ३, २०७९ मंगलबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।