दोस्रो पटक संसद्को चुनाव जितेका गिरी पहिलो पटक मन्त्री बन्दै

दोस्रो पटक संसद्को चुनाव जितेका गिरी पहिलो पटक मन्त्री बन्दै

पोखरा: एमालेबाट पर्वतमा प्रतिनिधि सदस्य पदको निर्वाचन जितेका पदम गिरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मा पाउने भएका छन्। मङ्गलबार विस्तार हुन लागेको मन्त्रिपरिषद्मा अब पर्वतका गिरी स्वास्थ्यमन्त्री बन्ने भएका हुन्।

२०७४ र २०७९ सालको चुनावमा उनी पवर्तबाट प्रत्यक्ष निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिबाट रार्टी राजनीतिमा आएका गिरी यसअघि पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति भएका थिए।

गिरी २०७१ मा पहिलो पटक पर्वत एमालेको अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। उनले दुई कार्यकाल पार्टीको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन्।

एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले पहिलो पटक २०७४ सालको निर्वाचतमा सांसद्मा निर्वाचित भएका थिए। उनले त्यसबेला कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीलाई पराजित गरी संसदीय यात्रा तय गरेका थिए।

त्यसैगरी गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा पुनः गिरी र जोशी उम्मेदवार बनेका थिए। २०७४ मा जोशीलाई पराजित गरेका गिरीले पुनः २०७९ मंसिरमा भएको निर्वाचनमा पनि जोशीलाई नै २५ सय मतान्तरले पराजित गरी दोस्रो कार्यकालका लागि संसद् यात्रा तय गरेका थिए।

माघ ३, २०७९ मंगलबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।