राप्रपाबाट लिङदेन र प्रधान मन्त्री बन्ने 'फिक्स', पाण्डे र राणामध्ये एकले अवसर पाउने

राप्रपाबाट लिङदेन र प्रधान मन्त्री बन्ने 'फिक्स', पाण्डे र राणामध्ये एकले अवसर पाउने

काठमाडौं: आज हुने मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानसहित तीन मन्त्रालय पाउँदैछ। सरकारमा राप्रपाको नेतृत्त्व पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले गर्नेछन्।

लिङदेनले उपप्रधानसहित ऊर्जा मन्त्रालय सम्हाल्ने तय भएको छ। यस्तै राप्रपाका उपाध्यक्ष तथा नवलपरासी पश्चिम- २ का सांसद ध्रुवबहादुर प्रधानले शहरी विकास मन्त्रालय पाउने भएका छन्।

यसबाहेक राप्रपाले महिला तथा बालबालिका वा खेलकुद मन्त्रालय पाउनेछ। खेलकुद मन्त्रालयमा माओवादी र रास्वपाले समेत दावी गरिरहँदा रास्वपाले नपाउने निश्चित भएको छ।

अब बाँकी एक मन्त्रालयका लागि राप्रपाबाट धवल शमशेर राणा वा विक्रम पाण्डेमध्ये एक मन्त्री बन्नेछन्। राणा बाँके- २ बाट निर्वाचित सांसद हुन् भने पाण्डे चितवन- ३ बाट निर्वाचित सांसद हुन्।

यस्तै राप्रपाले थप एक राज्यमन्त्री समेत पाउँदैछ। शहरी विकास राज्यमन्त्रीमा मकवानपुर- १ बाट निर्वाचित सांसद दीपकबहादुर सिंहको नाम तय भएको छ।

माघ ३, २०७९ मंगलबार १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।