मधेश प्रदेश सभामा आज सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची

मधेश प्रदेश सभामा आज सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

काठमाडौं: मधेश प्रदेश सभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ। नवनिर्वाचित प्रदेश सभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुखमा सत्ता गठबन्धनका तर्फबाट एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय प्रतिस्पर्धामा छन्।

गत बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिएका थिए।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ। प्रदेश सभामा रहेका १० राजनीतिक दलमध्ये मुख्यमन्त्री यादवलाई एमाले, जसपा, जनमत पार्टी, माओवादी केन्द्र, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीसहित दुई स्वतन्त्र गरी ६३ जनाको समर्थन छ।

यादवलाई नौ जना प्रदेश सभा सदस्य रहेको लोसपाले पनि समर्थन गर्ने तयारी गरेकाले त्यो सङ्ख्या बढेर ७२ पुग्ने जसपाको दावी छ।

माघ ३, २०७९ मंगलबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।