आज मन्त्रिपरिषद् विस्तार हुँदै, १ बजे शपथ कार्यक्रम
काठमाडौं: आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्त्वको सरकारमा एमाले, माओवादी, रास्वपा, राप्रपा र जनमत पार्टी सामेल हुने भएका छन्।
यस्तै जसपा, नागरिक उन्मुक्ति पार्टी र लोसपालाई मनाउने कोसिस गरिने पनि बताइएको छ। आफ्नो माग पूरा नभए सरकारमा नजाने यी दलहरूले बताउँदै आएका छन्।
हिजो अबेर राति सत्ता साझेदार दलहरूबीच भागबण्डा टुङ्गिएको थियो। हिजो बसेको पाँच घण्टा लामो बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने जानकारी दिएका थिए। यद्यपि पार्टीगतरूपमा मन्त्रालयको भागबण्डा टुङ्गिएको हो, कसलाई मन्त्री बनाउने भन्नेबारे खुलाइएको छैन।
दलहरूबीचको सहमतिअनुसार भागबण्डामा एमालेले आठ वटा मन्त्रालय पाउने भएको छ। सरकारको नेतृत्त्व गरिरहेको माओवादी केन्द्रले प्रधानमन्त्रीसहित थप चार वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। रास्वपाले उपप्रधान तथा गृहसहित तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री तथा जनमत पार्टीले एक मन्त्री पाउने भएको हो।
हालसम्मको सहमतिअनुसार एमालेको भागमा अर्थ, परराष्ट्र, स्वास्थ्य, रक्षा, नागरिक उड्डयन, भूमि सुधार, कृषि र महिला तथा बालबालिका मन्त्रालय पर्ने सम्भावना छ। माओवादीको भागमा भने भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि, पर्यटन र संघीय मामिला मन्त्रालय पर्ने सम्भावना छ।
रास्वपाको भागमा भने गृहसहित शिक्षा र श्रम मन्त्रालय निश्चित छ। यस्तै राप्रपाको भागमा ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय परेको छ।
जनमत पार्टीले उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।
यो सहमति हेरफेर पनि हुनसक्ने बताइएको छ। खासगरी जसपा र उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको खण्डमा मन्त्रालय बाँडफाँटमा हेरफेर हुनेछ।
माघ ३, २०७९ मंगलबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।