भाइरल हुने मनोविज्ञानले सेती खाेंचमा बगेको मानवता
काठमाडौं : पोखराको सेती खोंचमा आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भयो र आगो लाग्यो। ७२ यात्रु सवार विमानमा अहिलेसम्म ६९ जनाको शव भेटिएको छ। भेटिएका शव विभत्स देखिन्थे। बाँकी तीन सोमबार साँझसम्म बेपत्ता नै छन्।
दुर्घटना हुनेबित्तिकै सबैभन्दा पहिला स्थानीय नै दुर्घटनास्थल पुग्नु स्वभाविकै थियो। कतिपय स्थानीयले उद्धारको प्रयास गरे भने अधिकांश रमिते भएर फोटो तथा भिडियो खिचे। तीमध्ये पनि केहीले पोज दिँदै दुर्घटनास्थलमा फोटोसेसन गरे।
पोखराको विमान दुर्घटनाको विषयमा सामाजिक सञ्जालमा सम्प्रेषण भएका फोटो तथा भिडियो त एउटा घटना मात्रै हो। पछिल्लो समय अन्य कयौं संवेदनशील अवस्थाका फोटो तथा भिडियोसमेत सामाजिक सञ्जालमा पोष्ट हुने गरेको देखिन्छ।
दुर्घटनाको विभत्स र संवेदनशील अवस्थाको फोटो तथा भिडियो सञ्जालमा कस्तो मनोविज्ञानको आधारमा सम्प्रेषण हुन्छन् त?
हुन त सामाजिक सञ्जाल कुनै घटना तथा दुर्घटनाका बारेमा समाजमा सुुसुचित गर्ने सजिलो माध्यम नबनेका हैनन्। तर, त्यसकै माध्यमबाट दुर्घटनाका फोटो तथा भिडियो असंवेदनशील भएर सम्प्रेषण हुने गरेकोमा विज्ञहरू चिन्ता व्यक्त गर्छन्।
अर्काको पीडामा रमाउने आत्मकेन्द्रीत मानसिकता
व्यक्तिको व्यक्तित्वसँग सम्बन्धित समस्याका कारण आफूलाई राम्रो देखिनुपर्ने मनोविज्ञानले फोटो खिच्ने र सञ्जालमा पोष्ट तथा लाइभ गर्ने प्रवृत्ति बढेको मनोविद्को विश्लेषण छ। आधुनिक प्रविधिको विकाससँगै व्यक्तिमा आत्मकेन्द्रीत मानसिकता बढ्दै गएको र यसले मानवीय संवेदनामासमेत ह्रास निम्तिँदै गएकोप्रति विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रविधिको विकास सँग–सँगै कतिपय व्यक्ति भावनात्मकतालाई बिर्सेर यान्त्रिकरणतर्फ अघि बढिरहेको ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारीको विश्लेषण छ। उनका अनुसार प्रविधिको विकासले व्यक्तिलाई यान्त्रिक बनाइरहेको छ।
व्यक्तिले आफूलाई यान्त्रिक रूपमा अगाडि बढाउँदै गर्दा आत्मकेन्द्रीत समाजको निर्माण हुँदै गएको छ। जसले गर्दा मानव सभ्यता र समाज नै नकारात्मक बाटोतर्फ जाने जोखिम बढ्दै गएको उनको भनाइ छ।
डा. अधिकारीले भने, ‘यान्त्रिकरणले व्यक्तिमा मन, भावना हराउँदै गएको देखिन्छ।’
आफू राम्रो तथा प्रख्यात देखाउनुपर्ने मनोविज्ञान भएका व्यक्तित्वका कारण पीडा तथा दुर्घटनाका फोटो तथा भिडियो सञ्जालबाट सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको उनको तर्क छ।
‘कतिपयको आफू ठूलो हुँ भन्ने, पपुलर देखिनुपर्ने व्यक्तित्व हुन्छ,’ डा. अधिकारीले भने।
अर्कातर्फ व्यक्ति तथा समाजको भावनाविपरीत ‘एन्टी सोसल’ मानसिकता भएका व्यक्तिको जमात बढ्दै गएको देखिएको उनको विश्लेषण छ। जसले व्यक्तिका दुःख तथा पीडाका फोटो तथा भिडियो सञ्जालमा सम्प्रेषण गर्दै रमाउने प्रवृत्ति देखिएकोसमेत उनले बताए।
‘मान्छेको पीडा एकातिर छ, कतिपय व्यक्ति दुर्घटनास्थलमा फोटो, भिडियो खिचेर रमाइरहेको देखिन्छ,’ डा. अधिकारीले भने।
समाजशास्त्री डा. दिनेश प्रसाईंको पनि सामाजिक सञ्जालको माध्यमबाट जसरी पनि आफूलाई केन्द्रमा राख्ने र पपुलर भइराख्नुपर्ने प्रवृति बढेको मत छ।
स्वास्थ्य अवस्था गम्भीर भएर अस्पतालमा उपचार गराइरहेका, मृत शरीर, चितामा राखेका शवजस्ता संवेदनशील अवस्थाको फोटो तथा भिडियो सञ्जालमा सम्प्रेषण गर्ने प्रवृत्तिसमेत आजकल बढेको देखिन्छ।
‘चितामा राखेको र जलाउँदै गरेको शवको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्नुलाई व्यक्तिमा मानवीय संवेदना हराइरहेको उदाहरणको रूपमा लिन सकिन्छ,’ डा. अधिकारीको विश्लेषण छ।
यसरी अरुको पीडालाई भिडियो तथा फोटोका रूपमा कैद गरेर सम्प्रेषण तथा प्रदर्शन गर्ने र अरुको दुःख, पीडा हेरेर मनोरञ्जन लिने प्रवृत्तिलार्ई मनोचिकित्सकीय भाषामा ‘भोयरिज्म’ भनिन्छ।
‘आधुनिक प्रविधिको विकाससँगै अर्काको पीडालाई प्रदर्शनमा राखेर तथा हेरेर रमाउने प्रवृत्ति बढेको देखिन्छ,’ डा. अधिकारीले भने।
त्यसो त बोका, खसी, राँगा, सुँगुर, कुखुराजस्ता पशुपक्षी काट्दै गरेको गरेका फोटो तथा भिडियो सञ्जालमा पोष्ट गर्नुजस्ता प्रवृत्तिले व्यक्तिमा कठोरता बढ्दै गएको रूपमा लिन सकिने विज्ञहरू बताउँछन्।
मनोविद् गोपाल ढकाल कतिपय सामाजिक सञ्जाल प्रयोगकर्तामा भावनात्मकतालाई भुलेर संवेदनहीनताको प्रवृत्ति देखिँदै जान थालेको तर्क गर्छन्।
दुःख तथा पीडामा परेका व्यक्तिलाई उद्धार गर्नुको सट्टा सामाजिक सञ्जालबाट त्यस्ता दुर्घटनाका फोटो तथा भिडियो सम्प्रेषण गर्नुलाई मानवता हराएको व्यक्तिका रूपमा चित्रण गर्छन् उनी पनि।
‘सामाजिक सञ्जालमा संवेदनहीन तरिकाले फोटो तथा भिडियो पोष्ट गर्नु मानवीयता हराएको रूपमा लिन सकिन्छ,’ ढकालले भने, ‘उद्धारभन्दा भाइरल हुने मनोविज्ञानले मानवता हराउँदै गएको हो की भन्ने देखिन्छ।’
पत्रकार जस्तै न्यूज ब्रेक गर्ने मनोविज्ञान
जसरी पत्रकारले पहिलोपटक ‘न्यूज ब्रेक’ गर्न पाउँदा गौरव महसुस गर्छन्, त्यसैगरी कतिपय पत्रकारितासँग असम्बन्धित व्यक्तिमा समेत पहिलोपटक ‘सूचना ब्रेक’ गर्दा आत्मगौरव गर्ने मनोविज्ञान देखिएको मनोविद् ढकालको विश्लेषण छ।
‘सामाजिक प्रयोगकर्तामा घटनाको फोटो र भिडियोसँगै आफू पनि भाइरल हुने र चर्चित हुने लालसाको मनोविज्ञान देखिन्छ,’ उनले भने, ‘समाजिक सञ्जालमा लाइक र फलोअर्सको पनि लोभ देखिन्छ।’
कुनै दुर्घटनामा परेका व्यक्तिको उद्धार गर्दा फोटो तथा भिडियो खिच्न छुट्ने भएकाले कतिपय व्यक्ति दुःखमा परेकालाई उद्धार गर्नुभन्दा फोटो तथा भिडियो खिच्नमा केन्द्रीत हुने मनोविज्ञान देखिएको ढकाल बताउँछन्।
कुनै घटनाको कारुणीक तथा विभत्स फोटो तथा भिडियो पोस्ट गर्दा पीडित परिवार, आफन्त र आम व्यक्तिमा मानसिक आघात पर्ने जोखिम हुनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।
विभत्स तथा कारुणीक दृश्यले आम व्यक्ति तथा मृतकका परिवारमा मानसिक रूपमा पछिसम्म डर, त्रास हुने जोखिम हुन्छ।
सामाजिक सञ्जाल दुईधारे तरबार, कुण्ठापोख्ने सजिलो माध्यम
सामाजिक सञ्जालबाट विभिन्न घटनाका बारेमा सम्प्रेषण गर्दा अरूलाई कस्तो असर पार्छ भन्ने नसोच्ने प्रवृत्ति बढेकोप्रति समाजशास्त्री प्रसाईंले चिन्ता व्यक्त गरे।
‘मैले पहिले (घटना) देखेँ। ल हेर, मसँग बढि विभत्स फोटो छ’ भन्ने सोचका साथ विभिन्न घटनाका फोटो तथा भिडियो सञ्जालमा सम्प्रेषण गर्ने प्रवृत्तिप्रति उनले चिन्ता व्यक्त गरे।
सही र गलत नछुट्याई सामाजिक सञ्जालको माध्यमबाट हरेक क्षेत्रमा मत निर्माण गर्ने प्रवृत्तिसमेत हावी भइरहेको समाजशास्त्री प्रसाइँ बताउँछन्।
‘राम्रो देखाएर होस् वा नराम्रो देखाएर, पीडितलाई असरको बारेमा केही मतलब नगरी कुण्ठा पोख्ने र आफूलाई पपुलर बनाउन खोज्ने प्रवृति व्यापक छ,’ उनले भने।
पोखरामा विमान दुर्घटनाको समयमा मोबाइलमा भिडियो र फोटो खिच्नेजस्ता प्रवृत्ति पनि व्यक्तिले कुण्ठा पोख्ने तथा पपुलारिटी कमाउने एउटा उदाहरणका रूपमा लिन सकिने उनको विश्लेषण छ।
व्यक्तिमा रहेका खराबपन बाहिर ल्याउन सामाजिक सञ्जाल सजिलो माध्यम बनेको प्रसाईंको तर्क छ। आफैँले थाहै नपाइ व्यक्तिले आफूभित्रका दुर्गुण र खराबपन सामाजिक सञ्जालमा प्रदर्शन गरिरहेको हुने उनी बताउँछन्।
‘सामाजिक सञ्जाल व्यक्तिको खराबपन बाहिर ल्याउन सजिलो माध्यम बनिदियो,’ प्रसाइँले भने, ‘यसले हामीभित्रको स्वार्थीपनलाई उजागर गर्न मद्दत गरेको छ।’
मनोचिकित्सक डा. अधिकारी भने यसरी संवेदनहीन तरिकाले दुर्घटना तथा दुःख, पीडाको फोटो तथा भिडियो पोष्ट गर्नु अज्ञानता नभई मानवता हराउँदै गरेको अवस्थाको रूपमा लिन्छन्।
समाजशास्त्री डा. प्रसाईं प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग दुवैपट्टि धार भएको तरबार जस्तै भएकाले सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै पक्ष हुने बताउँछन्।
प्रविधिको सदुपयोग गरे सकारात्मक र दुरूपयोग गरे नकारात्मक प्रभाव पर्ने भएकाले त्यसतर्फ सजग हुनुपर्ने उनको सुझाव छ। विद्यालय तहमा समेत सामाजिक सञ्जालको प्रयोगको विषयमा सचेतना जगाउने अभियान नै चलाउनुपर्नेमा उनी जोड दिन्छन्।
संवेदनहीन तरिकाले व्यक्तिलाई आत्मकेन्द्रीत प्रवृत्तितर्फ जान नदिनका लागि विद्यालय तहबाटै भौतिकता मात्रै नभएर आत्ध्यात्मिकता र सामाजिक भाइचाराको अध्ययनलाई समेत जोड दिनुपर्ने मनोचिकित्सक डा. अधिकारीको पनि सुझाव छ।
व्यक्तिलाई भन्दा संस्थालाई सामाजिक सञ्जालको विषयमा ‘चेक एण्ड ब्यालेसन्स’ गर्न धेरै हदसम्म सम्भव हुने विश्लेषकको मत छ। व्यक्तिका लागि भने सञ्जाल प्रयोगबारे जनचेतना जगाएरै संवेदनशील सामग्री सम्प्रेषण हुने समस्या न्यूनीकरण गर्न सकिने विज्ञको सुझाव छ।
माघ २, २०७९ सोमबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।