‘नेपाली नागरिकता त्यागेर अमेरिका गएको होइन, झुट्टा विवरण पेश गरेर पुनः नागरिकता पाऊँ भन्ने कुरै आउँदैन’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिका नगएको दाबी गरेका छन्।
पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पदसमेत रद्द गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले आफूले नेपाली नागरिकता ल्यागेर अमेरिका नगएको दाबी गरेका छन्।
उनले लिखित जवाफमा , ‘नागरिकता ऐन, २०६३ को दफा ११ ले ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भनी उल्लेख गरेको उल्लेख गरेका छन्।
जवाफमा उक्त दफा ११ बमोजिम नेपाली नागरिकता कायम गर्ने कार्यविधिको बारेमा नियमावलीको नियम ११ मा उल्लेख गर्दा ऐनको दफा १० को उपदफा (१) अनुसारको कायम नरहेको नागरिकता बारे कुनै पनि कार्यविधि उल्लेख नगरी ‘...नागरिकता त्यागी विदेश गएको कुनै ब्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा...’भन्ने उल्लेख गर्दै नागरिकता त्यागेको निस्सा सहित पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूचि ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने भनी उल्लेख गरेको उनको तर्क छ।
उनले आफूले नेपाली नागरिकता त्यागी विदेश अमेरीका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधि अनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएको झुट्टा विवरण दिई निवेदन गर्न सक्ने अवस्था नआउने तर्क गरेका छन्।
माघ २, २०७९ सोमबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।