‘आरआरआर’ फिल्मले पायो अर्को ठूलो अवार्ड, ‘नाटु–नाटु’ फेरि बन्यो उत्कृष्ट गीत

‘आरआरआर’ फिल्मले पायो अर्को ठूलो अवार्ड, ‘नाटु–नाटु’ फेरि बन्यो उत्कृष्ट गीत

एजेन्सी : गोल्डेन ग्लोब अवार्डपछि, दक्षिण भारतीय तेलुगु फिल्म ‘आरआरआर’ले क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा सर्वश्रेष्ठ विदेशी भाषा फिल्मको अवार्ड जितेको छ।

योसँगै फिल्मको ‘नाटु–नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड पनि जितेको छ। क्रिटिक्स च्वाइस अवार्डको ट्विटर ह्यान्डलमा यो जानकारी दिइएको हो।

यसमा लेखिएको थियो, ‘आरआरआरका कलाकार र टोलीलाई धेरै बधाई– फिल्मले सर्वश्रेष्ठ विदेशी भाषा फिल्मको लागि क्रिटिक्स च्वाइस अवार्ड जित्यो।’

जुनियर एनटीआर, रामचरण र आलिया भट्ट अभिनित फिल्मको ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीतको लागि क्रिटिक्स च्वाइस अवार्ड पनि जित्यो।

आरआरआर फिल्मको ट्विटर ह्यान्डलबाट फिल्मको ‘नाटु–नाटु’ गीतले पनि अवार्ड पाएको जानकारी दिएको छ।

ट्वीटरमा लेखिएको छ, ‘फेरि एकपटक ‘नाटु–नाटु’ले क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा सर्वोत्कृष्ट गीतको अवार्ड पाएको जानकारी दिन पाउँदा निकै खुशी लागेको छ।’

गत हप्ता फिल्मको ‘नाटु–नाटु’ गीतले गोल्डेन ग्लोब्समा उत्कृष्ट मौलिक गीतको अवार्ड पाएको थियो।

माघ २, २०७९ सोमबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।