‘भष्मे डन’ फिल्म बन्दै, खगेन्द्रकाे कथामा स्वस्तिमा खड्का मुख्य अभिनेत्री
काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।
आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौता भएको हो। सिनेमालाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन्।
सिनेमामा स्वस्तिमा विपीन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा देखिनेछिन्। सिनेमामा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ।
सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिए।
‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो। ‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने सिनेमाको पर्दामा देखिने छैनन्।
‘पशुपति प्रसाद’मा पशुपति मरेपछि सिनेमा सकिएको थियो। ‘पशुपति प्रसाद’मा विपिनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो। सिनेमाको कथा खगेन्द्र लामिछानेले लेखेका छन्।
आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर सिनेमाको छायांकन हुनेछ। ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन्।
आगामी दशैं सिनेमा रिलिज गर्ने योजना छ। सिनेमा घोषणा भएदेखि नै दर्शकमाझ प्रतिक्षित छ।
माघ २, २०७९ सोमबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।