सरकार शोकमा बिदा मनाएर बस्यो, यात्रुका आफन्तले समयमा शव पनि पाएनन्

सरकार शोकमा बिदा मनाएर बस्यो, यात्रुका आफन्तले समयमा शव पनि पाएनन्

पोखरा : यति एयरलाइन्सको दुर्घटनामा परेका ७२ जनामध्ये २६ जनाको शवको पहिचान भइसके पनि आफन्तले शव पाउन सकेका छैनन्। मृतकहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृहमा राखिएको छ।

दुर्घटनामा परेकाहरूको पोस्टमार्टम नगरी शव दिन मिल्दैन। तर पोस्टमार्टममा भएको ढिलाइका कारण पोस्टमार्टम गृह अगाडि उभिएकाहरूको मन थामिएको छैन।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा पुगेका छन्। पोस्टमार्टमपछि यात्रुका आफन्तलाई शव दिने भनिए पनि कुनै आफन्तले शव पाएका छैनन्।

अनाहक आइपरेको आपतबाट विक्षिप्त उनीहरू कहिले आफन्तको शव आउँला भनेर पोस्टमार्टम गृह अगाडि उभिएर बसेका छन्। पोस्टमार्टम गृह सुरक्षाकर्मीले घेरेर राखेका छन्।

अस्पतालको एक कर्मचारी बेलाबखत बाहिर आएर माइकिङ गर्दै पहिचान खुलेकाहरूको नाम भन्दा त्यहाँ बसेका आफन्तहरू भक्कानिन्छन्।

उनीहरू 'थोत्रो विमान चलाएर आफन्त पनि मार्ने अनि शव पनि नदिने' भन्दै आक्रोशित भइरहेका छन्।

दुर्घटनामा परेको विमानमा चालक दलसहित ७२ जना रहेकोमा ६९ जनाको शव भेटिएको छ। त्यसमध्ये २६ जनाको मात्र पहिचान हुन सकेको छ। तीन वटा शव अझै फेला परेको छैन। सेतीमा शव डुबेको आशङ्कामा सशस्त्र प्रहरीका गोताखोरहरूले पानीमुनि खोजी गरिरहेका छन्।

माघ २, २०७९ सोमबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।