लुम्बिनीकाे सभामुख र उपसभामुखमा सत्ता गठबन्धनकाे तर्फबाट घर्ती र खाँणले गरे उम्मेदवारी दर्ता
बुटवलः लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ। संसद सचिवालयले जारी गरेको सूचना अनुसार आज साँझ ५ बजे सम्म मनोनयन दर्ताका लागि समय दिइएको छ।
आज दिउँसो सत्ता गठबन्धनले गरेकाे भागबन्डा अनुसार सभामुखमा माओवादी केन्द्रका तुलराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणले मनोनयन दर्ता गरेका हुन्। विपक्षी दलबाट भने अझै मनोनयन दर्ता भएको छैन।
सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेका छ्न्। उपसभामुखमा खाँणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन्।
मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन्। प्रदेशसभामा सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन्। कांग्रेसका २७ सदस्य छन्।
कांग्रेसले सरकारलाई समर्थन गरेको छैन। १–१ प्रदेशसभा सदस्य रहेको एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन गरेका छैनन्।
माघ २, २०७९ सोमबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।